एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार (आज) लिगको अन्तिम खेलहरु संचालन हुँदैछ । लिगको अन्तिम दिन शनिबार एकै समय विभिन्न ९ खेलहरु संचालन हुनेछ ।
बुन्डेस लिगाको उपाधि छिनोफानो पनि अन्तिम लिग खेलहरुले तय गर्नेछ । उपाधिको होडमा वायर्न म्युनिख र बोरुसिया डर्टमण्ड रहेका छन् ।
उपाधि दाबेदार क्लब वायर्न र डर्टमण्डबीचको अंक दुरी मात्र २ अंकको रहेको छ । त्यसैले अन्तिम खेल नसकिएसम्म उपाधि कुन टोलीले जित्छ भनेर अडकल काट्न मुश्किल छ ।
लिगको शीर्ष स्थानमा रहेको वायर्नले अन्तिम खेलमा फ्रान्कफर्टसंग घरेलु मैदानमा खेल्दैछ । वायर्नलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता छ ।
फ्रान्कफर्टविरुद्ध बराबरी खेलेपनि वायर्न गोल अन्तरमा अघि रहदै उपाधि जित्नेछ । वायर्नको ३३ खेलबाट ७५ अंक छ ।
घरेलु मैदानमा वायर्न स्पष्ट जित निकाल्दै लगातार सातौं सिजन उपाधि उचाल्न चाहन्छ ।
यता, डर्टमण्डलाई उपाधि जित्न स्पष्ट जित र वायर्नको हार जरुरी छ । डर्टमण्डले अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडवाचसंग खेल्नेछ ।
यस्तोमा वायर्न बराबरीमा रोकिएपनि डर्टमण्ड उपाधि जित्नबाट बन्चित हुनेछ । किनकी डर्टमण्डले जित निकलेपानी वायर्नले बराबरी खेल्दा दुवैको अंक समान ७६ हुनेछ । यस्तोमा गोल अन्तरमा डर्टमण्ड पछि रहने छ ।
डर्टमण्डले ३३ खेलबाट ७३ अंक जोडेको छ ।