ललितपुर । ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति यु – १८ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४ - २ ले पराजित गर्दै ब्रिगेड फाइनलमा प्रवेश गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टी सुटआउटमा ब्रिगेडका ४ खेलाडीले गोल गरे । फ्रेन्ड्सका दुई खेलाडीले मात्र गोल गर्न सफल भए । यसअघि खेलको अन्तिम समयमा ब्रिगेडले पेनाल्टी अवसर पाएपनि गोल गर्न सकेनन् ।
अब फाइनलमा ब्रिगेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग शुक्रबार खेल्ने छ । आर्मीले मोरङ फुटबल क्लबलाई २ – १ गोल अन्तरले पराजित गर्दै यस अघि नै फाइनलमा पुगिसकेको छ ।