काठमाडौ । विभागीय टिम एपीएफ क्लबले १४ औँ संस्करणको सहिद भीमनारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार धनकुटामा भएको फाइनल खेलमा एपीएफले क्यामरुनको दाउफिन्सलाई पराजित गर्दै सिजनको पहिलो उपाधि हात पारेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
पेनाल्टीमा एपीएफले दाउफिन्सलाई ३–२ गोल अन्तरले पराजित गर्याे ।
खेलमा अग्रता दाफिन्सले ४० औ मिनेटमा यानीक वोआनाको गोलबाट लिएको थियो । एपीएफका रवी थिङले ६० औ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थिए ।
६८ औ मिनेटमा पेटंगाको गोलबाट दाफिन्सले पुन खेलमा अग्रता बनायो । खेल सकिन एक मिनेट बाँकी छँदा महेश लामाले खेल बराबरीमा ल्याएका थिए ।
एपीएफको लागि धनश्याम थारु, रवि थिंक र हरि कार्कीले गोल गरे । यस्तै बुद्धिमान राईको प्रहार भने दाउफिन्सका गोलरक्षकले रोके ।
दाफिन्सका पेटंगा र प्रिसोको बलले मात्र पोस्टको दिशा लिएको थियो ।
उपाधिसँगै एपीएफले ४ लाख प्राप्त गर्यो । उपविजेता दाउफिन्सले २ लाखमा चित्त बुझायो ।
विधागततर्फ एपीएफको बर्चस्व रह्यो । एपीएफका सुदिप श्रेष्ठ उत्कृष्ट प्रशिँक्षक भए । डिफेन्डरमा कप्तान सरोज कोइराला भए । यस्तै गोलरक्षकमा एपीएफकै अमृत चौधरी घोषित भए ।
प्रतियोगितामा सर्बाेत्कृष्ट खेलाडी एपीएफका रवि थिंक चुनिए ।