काठमाडौ । शुक्रबार, एसिया कप ह्विल चियर क्रिकेटको तेस्रो दिन ।
नेपाल र पाकिस्तान मैदान उत्रिएका थिए ।
तेस्रो खेलमा पाकिस्तानविरुद्व उत्रिएको नेपालले खेल गुमाउन पुग्यो । लगातार तीन खेल हारेसंगै नेपाली खेलाडी निरास देखिन्थे ।
लगत्तै नेपालका एक खेलाडी हतार हतार गर्दै त्रिवि मैदानबाट बाहिर निस्किए । उनी बल्खु हुँदै बागबजारका लागि निस्किएका थिए ।
उनी बागबजार निस्कनुको कारण शैचालयका लागि थियो । जहाँ उनीहरु बस्ने होटल थियो ।
त्रिवि मैदानमा अपाङ्गमैत्री शौचालय नहुदाँ खेलाडीहरु शौचालयका लागि करिब साँढे ६ किलोमिटरको यात्रा तय गर्दै होटलसम्म पुग्ने गर्छन ।
‘हामी असक्षम मानिस हौँ । आफै केहि गर्न सक्दैनौ । धेरै हैन, सुविधायुक्त शौचालयको ब्यवस्था भए राम्रो हुने थियो ।’ नाम नखुलाउने शर्तमा एक नेपाली खेलाडीले भने ।
’कति बेला शौच आउँछ थाहा हुँदैन । आएको बेला जाने ठाउँ छैन ।’ उनी भन्छन्, ’धेरै खेलाडी कपडा रुझेपछि मात्र थाहा पाउँछन् ।’
प्रतियोगितामा आयोजक नेपाल सहित भारत, पाकिस्तान र बंगलादेशले सहभागिता जनाएका छन् ।
त्रिवि मैदानको पेभेलियनमा शौचालय नभएको हैन । तर अपाङ्गमैत्री छैन । खेलाडीहरु ह्विलचियर लिएर शौचालय जान असंम्भव छ ।
खेलाडीहरु शौच गर्न अभ्यास भवनको पछाडी जान बाध्य छन् । ह्विलचियर मार्फत त्यहाँ जान सहज पनि छैन ।
‘हामी नेपालकै भयौ, सहजै होटल गएर आउँछौ । बाहिर देशका खेलाडीलाई अझ धेरै समस्या छ । केही समस्या छैन ।’ अर्का खेलाडी भन्छन् ।
चार दिन सम्म चल्ने प्रतियोगितामा सरकार, राष्ट्रिय खेलकुद परिषद राखेप कसैको पनि सहयोग छैन । भारतले आयोजना गर्ने भनिए पनि पाकिस्तानसंगको कारण देखाउँदै अन्तिममा नेपालले आयोजनाको अवसर पाएको थियो ।
जेठ १ बाट सुरु भएको प्रतियोगिता भोली (शनिबार) सकिनेछ । फाइनलमा भारत र पाकिस्तान भिड्ने तय छ ।
तर प्रतियोगितामा सहभागि खेलाडीलाई सामान्य शौचालयको व्यवस्था समेत छैन ।
एक नेपाली खेलाडी भन्छन्, ‘एसिया कप भईरहेका छ । तर राम्रोसँग शौच गर्ने ठाउँ छैन । सामान्य रुपमा शौच गर्न समेत होटल पुग्नु पर्ने बाध्यता छ ।’