काठमाडौं । एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् ।
किर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको अन्तिम लिग खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गरेपछि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
बंगलादेशलाई पराजित गरेसंगै भारत समूहको शीर्ष स्थानमा रहदै फाइनल पुग्यो । अपराजित भारतले ६ अंक जोड्यो ।
पाकिस्तानले दोस्रो स्थान रहेर भारतसंगको भेट पक्का गरेको हो । पाकिस्तानले ४ अंक जोड्यो । २ अंक जोडेको बंगलादेश र अंकविहीन नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतले दिएको २०४ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका लागि साजद होसेनले ५४ रन जोड्दा मोहमद मिथुनले ३२ र जाबेद अहमदले ३० रन जोडे । भारतका विश्वनाथ गौरव र मुकेश त्यागीले २/२ विकेट लिए ।
यसअघि भारतले २० ओभरमा ३ विकेट गुमाएर २०३ रन जोडेको थियो । भारतका लागि सौरभ मल्लिकले ८५ तथा निकुल प्रजापतिले ६५ रन बनाए । बंगलादेशका मोहमद रोजेन होसेनले २ विकेट लिए ।
फाइनल खेल शनिबार टियु मैदानमा हुनेछ ।