काठमाडौं । भुटानमा भएको साफ यू–१८ पुरुष च्याम्पियनसिप विजेता खेलाडीले दुई वर्ष बितिसक्दा पनि पुरस्कार पाएका छैनन् ।
सन् २०१७ सेप्टेम्बरमा भुटानको राजधानी थिम्पुमा भएको उमेर समूहको साफ प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । उपाधि जितेको दुई वर्ष बितिसक्दा समेत खेलाडीले आफुलाई दिने भनिएको पुरस्कार राशी नपाएको गुनासो गरेका छन् ।
उमेर समूहको विजेता टोलीका सदस्यलाई जनही दुई लाख रुपैयाँ दिने एन्फाले घोषणा गरेको थियो ।
‘विजेता भएसँगै एन्फाले दिने भनेको पैसा अहिलेसम्म पाएका छैनौँ । कहिले पाउने हो, जानकारी छैन ।’ नेपाललाई साफ जिताउन महत्वपुर्ण भुमिका खेलेका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले भने, ‘पहिला जिते लगत्तै दिने भनियो, तर अहिले कुरै आउँदैन ।’
‘टिमको कप्तान त होस्, पुरस्कारको कुरा गर भन्छन् । म कहाँ माग्न जाउँ ?’ कप्तान अर्पण प्रश्न गर्छन ।
तत्कालिन एन्फा नेतृत्वमा रहेका नरेन्द्र श्रेष्ठले साफ जिते लगत्तै विजेता खेलाडीलाई जनही दुई लाख दिने बताएका थिए । त्यसपछि एन्फामा नयाँ कार्यसमिति आयो । वर्तमान एन्फा नेतृत्वले पुरस्कारको विषयमा कुरै नउठाएको खेलाडीको गुनासो छ ।
‘सुरुमा पुरस्कार दिने भनेर भनियो, अहिले कसैले नि वास्ता गर्दैनन् ।’ नेपाललाई उपाधि जिताएका स्ट्राइकर प्रिजेन तामाङ गुनासो गर्छन । त्यसपछि यू–१८ साफ विजेता केही खेलाडीले एन्फाको नयाँ कार्यसमिति आएसँगै एएफसी यू–२३ च्याम्पियनसिप छनोटको प्रतियोगिता खेलीसकेका छन् ।
यता, एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने पुरानो कार्य समितिले दिने भनेको पुरस्कार केही ढिला भएको स्विकार गरे ।
‘पुरानो कार्य समितिकै समयमा दिने भनेको थियो । अहिले नयाँ नेतृत्व आएको छ । हामी व्यवस्था गर्दैछौँ । केहि ढिला हुन सक्छ ।’ महासचिव तुलाधरले भने, ‘थ्री स्टारको पनि त्यस्तै भएको थियो । हामीले व्यवस्था गरेर मिलायौं । यू–१८ को पनि हुँदैछ । केही ढिला होला, तर हामी दिलाउने छौँ ।’
महासचिब तुलाधरले विजेता टिमलाई असार मसान्तसम्म पुरस्कार रकम दिईने व्यवस्था एन्फाले मिलाएको बताएका छन् ।
साफ विजेता टिमको प्रशिक्षकमा छिरिङ लोप्साङ तथा म्यानेजरमा गणेश बहादुर चन्द थिए ।
नेपाली टिम :
गोलरक्षक अर्पण कार्की कप्तान, अभिषेक बराल, सन्देश गुरुङ
डिफेन्डर : विकास खवास, असिम भुसाल, रोमन लिम्बु, सुमन अर्याल, विश्वास उदास, राजन गुरुङ, आकाश श्रेष्ठ, निर्जन महर्जन
मिडफिल्डर : अभिषेक रिजाल, दिनेश हेम्जन, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, एरिक विष्ट, अशोक थापा, राजिब लोप्चाङ, राम चन्द्र वाजी
स्ट्राइकर : प्रिजेन तामाङ, रेजिन सुब्बा, दिपेश आले मगर, धिरज श्रेष्ठ