काठमाडौ । क्यामरुनको दाउफिन्स एफसी धनकुटामा जारी सहिद भिमनारायण श्रेष्ठ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनकुटामा बिहीबार भएको पहिलो सेमिफाइनलमा मोरङको विन्ध्यबासिनी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै दाउफिन्स उपाधि नजिक पुगेको हो ।
दाउफिन्सलाई जित दिलाउन पेटेङगा र एभ्रल इनामेले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा पेटेङगाले गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा इनामेले गोल गर्दा दाउफिन्स उपाधि नजिक पुग्न सफल भयो ।
योसंगै दाउफिन्स सिजनको पहिलो उपाधि नजिक पुगेको हो । गत सिजन मोफसलको प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले ५ उपाधि जितेको थियो ।
अब दाउफिन्सले झापाको विर्ता युनाइटेड क्लब र विभागिय टिम एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख पाउनेछन् ।