काठमाडौं । एएफसी कपमा नेपाली क्लब मनाङ मर्स्याङ्दी क्लबविरुद्व बराबरीको नतिजा हासिल गरेको भारतीय क्लब मिनर्वा पन्जाबले रेफ्रीको निर्णयलाई लिएर चर्को असन्तुष्टि जनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबारको मनाङसंग १–१ गोलको बराबरी खेलेको मिनर्वाले रेफ्रीले दिएको रातो कार्ड र अफ साईड गोललाई लिएर असन्तुष्टि जनाएको हो ।
‘त्यो रातो कार्ड थिएन । जसरी खेलको अवस्था बन्यो, त्यो गोल भएको थियो । तर रेफ्रीले त्यसलाई अफसाईड दिए ।’ पन्जाबका प्रशिक्षक सचिन बाडेले भने ।
प्रशिक्षक बाडेले रेफ्रीको भुमिकालाई लिएर एएफसीमा उजुरी गर्ने समेत उल्लेख गरे । उनले रेफ्रीले मनाङसंग पैसा लिएको समेत आशंका गरे ।
‘हामी एएफसीमा उजुरी गर्नेछौ । म्याच कमिसनरलाई कडा कारबाही हुन आवश्यक छ । यो दोस्रो पटक हुनु हुदैन । उनीहरुले पैसा लिएको हुनुपर्छ ।’ उनले थपे ।
आफ्ना खेलाडीको प्रशंसा गर्दै प्रशिक्षक बाडेले १० खेलाडीमा सिमित भएपनि खेलाडीले निकै राम्रो खेल प्रर्दशन गरेको बताए । उनले बाँकी दुई खेल जित्दै अघिल्लो चरण प्रवेशको सम्भावना खुल्ला राख्ने समेत उल्लेख गरे ।