बारा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बुधबार) बारामा ग्रास रुट डे मनाएको छ । ६ देखि १२ वर्ष उमेर समुहका विद्यालय जाने बालबालिकालाई लक्षित गरेर एन्फाले यस वर्षदेखि प्रत्येक जिल्लामा ग्रास रुट प्रशिक्षण शुरु गरेको थियो । नेपाली फुटवलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौदेखी ग्रास रुट फुटबलको प्रशिक्षण सुरु गरेको थियो ।
सिमरा रंगशालामा ग्रास रुट फूटवल प्रशिक्षण सञ्चालन गरिरहेको बारा जिल्ला फुटबल संघले बिशेष कार्यक्रमको आयोजना गर्दै बुधबार ग्रासरुट डे मनाएको हो । ग्रास रुट फुटबल जिल्लाका १६ विद्यालयका चार सय भन्दा बढी बालबालिका सहभागी भएको बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
एसियन फुटबल काउन्सिलले हरेक वर्ष मे १५ तारिखलाई ग्रासरुट डेको रुपमा मनाउदै आएको छ । यस वर्ष एन्फाले काउन्सिलको कार्यक्रमलाई नेपालमा भित्राएपछि पहिलो पटक ग्रास रुट डे मनाइएको हो ।
एन्फाले नेपालका तीन जिल्लामा ग्रास रुट डे मनाउने निर्णय गरेको थियो ।
एन्फाको निर्णय अनुसार बारासहित रुपन्देही र सुनसरीमा पनि ग्रास रुट डे मनाइएको एन्फाका उपाध्यक्ष एवम् ग्रास रुट फुटबल कार्यक्रमका संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए ।
सिमरा रंगशालामा आयोजित ग्रास रुट डे बिशेष कार्यक्रममा सहभागी सिंहले नेपाली फुटबलको विकासका लागि ल्याइएको ग्रास रुट कार्यक्रम दक्ष खेलाडी उत्पादन हुनेमा बिश्वस्त रहेको बताए ।
एन्फाले देशका ४८ जिल्लामा ग्रास रुट फुटबल प्रशिक्षण सुरु गरेको छ ।
एन्फाले ग्रास रुट फुटबललागि प्रत्येक जिल्लालाई पा“च लाख बजेट उपलब्ध गराएको थियो ।
एन्फाले उपलब्ध गराएको बजेटबाट बारामा सुरु गरिएको ग्रास रुट फुटबलमा यतिबेला बालबालिकाको मात्रै नभई अभिभावकको समेत रुचि पाईन्छ । आफ्नो बालबालिकालाई उत्साहका साथ अभिभावकले फुटबलका सहभागी गराएको बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष एवम् ग्रास रुट फूटवल बाराका संयोजक रामचन्द्र लामाले बताए ।
‘यो कार्यक्रमका लागि पाँच लाख बजेट पर्याप्त छैन । तर एन्फाले भित्राएको ठुलो कार्यक्रमलाई सफल बनाउन हामी लागिपरेका छौ ।’ लामाले भने ‘यसलाई सफल बनाउन संघ मात्र नभई स्थानिय सरकार, अभिभावक र फुटबल प्रेमीको सहयोगले उर्जा मिलेको छ ।’
एन्फाले उपलब्ध गराएको बजेटबाट सिमरा रंगशालाको प्याराफिटमा चेन्जिङ रुप निर्माण गरिएको समेत लामाले बताए ।
बारा जिल्ला फूटवल संघका अध्यक्ष एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलसहित वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे सहित विभिन्न संघसंस्थाका प्रतिनिधि, फूटवलप्रेमी र अभिभावकको सहभागिता रहेको थियो ।