काठमाडौं । एसिया कप व्हिल चियर टी ट्वान्टी क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । बुधबार भएको दोस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिबि मैदानमा बंगालदेशले दिएको १ सय ७८ रनको लक्ष्य पाकिस्तानले १६ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा सजिद अलि अब्बासी र मोहमद लतिफले अविजित ५१/५१ रन बनाए । बंगलादेशका अहदुल इस्लाम र महोमद मर्शेद आलमले समान १/१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।
सज्जद होसनले सर्वाधिक ७४ रन बनाएको पालीमा मोहमद रिपोन उद्दीनले ३२, जाबेद अन्मेदले १२ तथा मोहमद मोहिदुल इस्लामले ११ रन जोडे ।
पाकिस्तानका महमद इमरान अमिनले २ विकेट हात पारे ।
खेलको म्यान अफ दि म्याच घोषित भएका पाकिस्तानका मोहमद लतिफले २५ हजार रुपैया प्राप्त गरे ।
शुक्रबार हुने पहिलो खेलमा नेपालले बंगलादेश तथा भारतले पाकिस्तानसंग खेल्नेछ ।