काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत अहिले नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र भारतीय क्लब मिनर्वा पन्जाबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा घरेलु टोली मनाङ १-० गोल अन्तरले पछि परेको छ ।
खेलको ४० औं मिनेटमा थोइबा सिंहले गोल गर्दै मिनर्वालाई सुरुवाती अग्रता दिलाए ।
त्यसअघि खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । थोइबा कै प्रहार क्रस बारमा लाग्दा मिनर्वाले अग्रता बनाउनबाट चुकेको थियो ।
पहिलो हाफमा मनाङले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
पहिलो हाफको इन्जुरी समयमा प्रतिक जोशीले रातो कार्ड पाएपछि मिनर्वा १० खेलाडीमा सिमित बनेको छ । मनाङका सोमिडे एडिलाजालाई लडाएपछि पहेलो कार्ड पाएका जोशीले रेफ्रीसंग विवाद गर्दा रातो कार्ड पाएका थिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
समूह ई मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ । मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २-२ गोलको बराबरी खेलेका थिए ।