एजेन्सी । भारतीय राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा क्रोएसियाका प्रशिक्षक इगोर स्टिमेक नियुक्त भएका छन् ।
भारतीय फुटबल फेडेरसनले बुधबार प्रशिक्षक इगोर स्टिमेकलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
क्रोएसियाको राष्ट्रिय टिम हेरिसकेका प्रशिक्षक स्टिमेकलाई भारतले दुई वर्षको लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
मुख्य प्रशिक्षक स्टेफन कोन्सटेनटाइनले पदबाट राजिनामा दिएपछि पछिल्लो समय भारतीय टोली प्रशिक्षक विहीन रहेका थिए । भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक कोन्सटेनटाइनले पदबाट राजिनामा दिएका थिए ।
निकै अनुभवी ५१ वर्षीय प्रशिक्षक स्टिमेक पछिल्लो १८ वर्षदेखि प्रशिक्षण गर्दै आईरहेका छन् । प्रशिक्षक स्टिमेकले क्रोएसियालाई सन् २०१४ को ब्राजिल विश्वकपमा छनोट गराउन सफल भएका थिए ।
क्रोएसियाका पुर्व डिफेन्डर समेत रहेका प्रशिक्षक स्टिमेकले क्रोएसियाबाट ५३ खेल खेल्दै २ गोल गरेका थिए ।