काठमाडौँ । विभागीय टिम एपीएफ क्लब १४ औं भिम नारायण गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
धनकुटामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो ।
एपीएफको सहज जितमा रवि थिङले दुई तथा कुमार दोङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच एपीएफका रवि घोषित भए ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार क्यामरुनको दाउफिन्स र विन्ध्यावासिनी एफसी मोरङबीच खेल हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा एपीएफ र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजक भिम नारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।