एजेन्सी । ब्राजिली स्टार नेयमारले बार्सिलोनाका फरवार्ड फिलिप काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पीएसजी ल्याउन चाहेका छन् । स्पेनिस महारथी क्लब बार्सिलोना छाड्ने तयारी गरेका काउटिन्होलाई नेयमारले फ्रान्सेली लिग च्याम्पियनसंग जोड्न चाहेका हुन् ।
गत बर्ष जनवरीमा काउटिन्हो बार्सिलोनासंग आबद्व भएका थिए । बार्सा स्टार नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी आएपछि ब्राजिली सहकर्मी काउटिन्होले उनको अभाव पुर्ती गर्ने क्लबको अपेक्षा थियो ।
करिब १ सय ४५ मिलियन पाउण्डमा बार्सा आएका काउटिन्होको करियर भने राम्रोसंग अघि बढ्न सकेन । बार्सिलोनाको यस सिजनका अधिकांश खेलमा मुख्य प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले उसमान डेम्बेलेलाई मौका दिएका छन् ।
सोही कारण बार्सिलोनाले २६ बर्षका काउटिन्होलाई यस सिजन बेच्न खोजिरहेको छ । नेयमार समेत ब्राजिली सहकर्मीलाई पीएसजीमा उतार्ने कोशिश गरिरहेका छन् ।
लण्डन क्लब चेल्सीले समेत ब्राजिली फरवार्डमाथि आँखा लगाईरहेको छ । पहिलो सिजन निकै सुखद बिताएका माउरिजियो सर्रीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेका थिए । उनी कारबाओ कपको फाईनल पुगेका थिए भने युरोपा लिगको फाईनल भिडन्त तय गरेका छन् ।
तर फिफाले चेल्सीलाई खेलाडी किन्नमा प्रतिबन्ध गरेको छ । लण्डन क्लब फिफाको निर्णयविरुद्व कोर्ट अफ आर्बिटेसनमा जाने तयारी गरेको छ । चेल्सी आफै समेत स्टार फरवार्ड इडेन हजार्डको अभाव पुर्ती गर्न सक्ने खेलाडीको खोजीमा छ । जसका लागि काउटिन्हो राम्रो विकल्प हुन सक्छ ।
यता नयाँ सिजन खेलाडी अनुबन्धनमा ठुलो धनराशी खर्च गर्न खोजेको म्यानचेष्टर युनाईटेडले समेत काउटिन्होलाई मुख्य खेलाडीको रुपमा हेरेको छ ।