एजेन्सी । एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानले सिजनको अन्त्यसंगै क्लब छाड्ने घोषणा गरेका छन् । विश्वकप विजेता टिमका सदस्यले प्रतियोगिता लगत्तै क्लबसंग ५ बर्षको सम्झौता गरेका थिए । तर शनिबार हुने लेभान्टेविरुद्वको खेल आफ्नो अन्तिम खेल हुने उनले बताए ।
लिग प्रतिद्वन्दी क्लब बार्सिलोनाले ग्रिजम्यानलाई १ सय २० मिलियन युरोको तिर्न तयार भएको बताईएको छ ।
'पछिल्ला ५ बर्ष निकै उत्साहजनक रह्यो । सबैलाई धन्यवाद छ ।' ग्रिजम्यानले भने ।
'म प्रशंसकलाई बिशेष धन्यवाद भन्न चाहन्छु । जसले मलाई यति धेरै माया दिए । मैले क्लब छाड्ने निर्णय लिएको छु । अरु रुपमा भन्दा नयाँ चुनौतीको लागि तयार भएको छु ।' २८ बर्षका फरवार्डले भिडियो सन्देशमा भनेका छन् ।
फ्रेन्च फरवार्डले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए । उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको आएका थिए ।
उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपर कप जितेका थिए ।
उनी गत बर्ष बार्सिलोनाको प्रस्तावलाई अस्विकार गरेका थिए ।
ग्रिजम्यान यसै सिजन क्लब छाड्ने टिमका तेस्रो ठुलो खेलाडी हुन् । यसअघि लुकास हर्नान्डेजले नयाँ सिजन बार्यन म्युनिख जाने सहमती गरेका थिए । यस्तै कप्तान डिएगो गोडिनले समेत क्लब छाड्ने निर्णय गरेका थिए ।