काठमाडौं । एएफसी कप फुटबलको चौथो खेलमा लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले आज (बुधबार) भारतीय क्लब मिनर्वा पन्जाबसंग खेल्दैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
पन्जाबविरुद्धको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक छिरिङ लोप्साङले पुरानो गल्तीहरु सच्चाउँदै ३ अंकका लागि मैदान उत्रने बताएका थिए । प्रशिक्षक लोप्साङले एएफसी कप अन्तर्गत भारतीय क्लबविरुद्ध जित्न निकाल्ने लक्ष्यसहित मैदान उत्रने उल्लेख गरेका थिए ।
'हामी जित्न कै लागि मैदान उत्रने छौं । कमजोरी सुधार गर्दै राम्रो खेल्ने योजना छ ।' प्रशिक्षक लोप्साङले भने, 'टिम गेम खेलेर पनि हामीले मौकाको सदुपयोग गर्न सकेका छैनौं ।'
प्रशिक्षक लोप्साङले पन्जाबविरुद्धको खेलमा टिम संरचना केहि फेरबदल गर्ने समेत बताए । उनले फुटबलबारे अझै धेरै कुरा सिक्न बाँकी रहेको समेत बताए ।
'देशको फुटबल एकै स्तरकाे छैन । हामीले धेरै सिक्नु पर्नेछ । फुटबल भाग्यको खेल हो । दर्शकको पनि ठुलो भुमिका रहनेछ ।' प्रशिक्षक लोप्साङले थपे ।
समूह ई मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ । मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २-२ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा भने मनाङ ३ अंक जोड्ने लक्ष्यमा रहेको छ ।
पन्जाबसंगको खेलअघि कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा ३ अंकको लागि मैदान उत्रने बताए ।
'हामी आफ्नै कमजोरीको कारण अघिल्ला तीन खेलमा पछि परेका थियौं । तर, हामी भोली ३ अंकको लागि खेल्ने छौं ।' कप्तान विराजले भने ।
त्यस्तै कप्तान विराजले मनाङको अर्को चरण सम्भावना अझै बाँकी रहेको बताए ।
'अब आउने तीनै खेल महत्त्वपूर्ण छ अर्को चरणमा जान । हामीलाई आशा पनि छ । खेलाडीमा धेरै तनाव छैन ।' कप्तान विराजले थपे, 'हाम्रा खेलाडीमा आत्मविश्वास छ ।'
दुई खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्ष स्थानमा छ ।
एक जित एक बराबरी र एक हारका साथ ४ अंक रहेको अवहानी लिमिटेड दोस्रो स्थानमा छ ।
तीन खेलमा तीनै बराबरी खेलको मिनर्वा तेस्रो स्थानमा र मात्र १ अंक जोडेको मनाङ समुहको अन्तिम स्थानमा छ ।
समुह ई को विजेताले मात्रै अघिल्लो चरणको यात्रा तय गर्नेछ ।