काठमाडौं । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले एएफसी कप अन्तर्गत भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध जित्न निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
एएफसी कप अन्तर्गत दोस्रो होम गेमको रुपमा मनाङले बुधबार भारतीय लिग च्याम्पियन पन्जाबसंग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मनाङ र पन्जाबबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
पन्जाबविरुद्धको खेलअघि मंगलबार प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक लोप्साङले पुरानो गल्तीहरु सच्चाउँदै ३ अंकका लागि मैदान उत्रने बताए ।
'हामी जित्न कै लागि मैदान उत्रने छौं । कमजोरी सुधार गर्दै राम्रो खेल्ने योजना छ,' प्रशिक्षक लोप्साङले भने, 'टिम गेम खेलेर पनि हामीले मौकाको सदुपयोग गर्न सकेका छैनौं ।'
प्रशिक्षक लोप्साङले पन्जाबविरुद्धको खेलमा टिम संरचना केहि फेरबदल गर्ने समेत बताए । उनले फुटबलबारे अझै धेरै कुरा सिक्न बाँकी रहेको समेत बताए ।
'देशको फुटबल एकै लेभलको छैन । हामीले धेरै सिक्नु पर्नेछ । फुटबल भाग्यको खेल हो । दर्शकको पनि ठुलो भुमिका रहनेछ,' प्रशिक्षक लोप्साङले थपे ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ । मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो खेलमा मनाङ र मिनर्वाले २-२ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा भने मनाङ ३ अंक जोड्ने लक्ष्यमा रहेको छ ।
पन्जाबसंगको खेलअघि कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा ३ अंकको लागि मैदान उत्रने बताए ।
'हामी आफ्नै कमजोरीको कारण अघिल्ला तीन खेलमा पछि परेका थियौं । तर, हामी भोली ३ अंकको लागि खेल्ने छौं,' कप्तान विराजले भने ।
त्यस्तै कप्तान विराजले मनाङको अर्को चरण सम्भावना अझै बाँकी रहेको बताए ।
'अब आउने तीनै खेल महत्त्वपूर्ण छ अर्को चरणमा जान । हामीलाई आशा पनि छ । खेलाडीमा धेरै तनाव छैन,' कप्तान विराजले थपे, 'हाम्रा खेलाडीमा आत्मविश्वास छ ।'