काठमाडौं । भारतीय क्लब मिनर्वा पन्जाबका मुख्य प्रशिक्षक सचिन तनाजी बडाढेले एएफसी कप अन्तर्गत सिग्नेचर मनाङ मर्स्याङ्दीविरुद्ध ३ अंक जोड्न लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
मनाङविरुद्धको खेलअघि मंगलबार प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक बडाढेले घरेलु टोलीविरुद्ध ३ अंकका लागि मैदान उत्रने बताए ।
'मनाङसंगको खेलका लागि हामी सकारात्मक छौँ । हामी ३ अंकको लागि प्रतिस्पर्धा गर्ने छौँ,' प्रशिक्षक बडाढेले भने ।
भारतीय आई लिग च्याम्पियन पन्जाबले बुधबार एन्फा कम्प्लेक्समा मनाङसंग खेल्दैछ । पन्जाबले घरेलु मैदानमा भएको खेलमा मनाङसंग २-२ गोलको बराबरी खेलेको थियो ।
प्रशिक्षक बडाढेले आईलिग र एएफसी कप फरक प्रतियोगिता भएको कारण अंक जोड्न आफुले अघिल्ला गल्ती नदोहोर्याउने बताए ।
'जुनै टोली पनि अघिल्लो चरणमा पुग्न सक्छ । त्यसैले सबैको संभवाना उत्तिकै छ,' प्रशिक्षक बडाढेले थपे, 'यस खेलमा हामीले अघिल्ला गल्ति दोहोर्याउने छैनौं ।'
यस्तै पन्जाबका कप्तान ओमालाजा नुरेन करिमले पनि ३ अंक ल्याउने योजनासहित मैदान उत्रने बताए ।
'हामी भारतको च्याम्पियन हौँ । मनाङ नेपालको च्याम्पियन टोली हो । त्यसैले खेल जे पनि हुन सक्छ । तर , हामी ३ अंकको लागि खेल्नेछौँ ।'
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ । मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।