काठमाडौ । महिला फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग'को खेलाडी बिक्री आज (मंगलबार) हुदैछ । आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टले साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीको ड्राफ्ट गर्न लागेको हो । होटल साग्रिलामा हुने कार्यक्रम अपरान्ह ५ बजे सुरु हुनेछ ।
खेलाडीलाई चार समुहमा राखेर ड्राफ्ट गर्न लागिएको हो । आयोजकले डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री गरि चार समुहमा खेलाडी विभाजना गरेको छ ।
राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका वर्तमान टिमका सदस्यलाई डायमण्ड श्रेणीमा राखिएको छ । त्यस्तै रुबिजमा उमेर समुहका राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी समावेश छन् । सफायर्समा घरेलु टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई राखिएको छ ।
यस्तै ट्यालेन्ट हण्टबाट आउने खेलाडीलाई वाईल्ड कार्ड ईन्ट्रीमार्फत प्रतियोगितामा समावेश गरिनेछ ।
डायमण्डका लागि ७५ हजार, रुबिजका लागि ५० हजार, सफायर्सका लागि २५ हजार रुपैयाँ राखिएको छ ।
टिमका मालिकले लक्कि ड्र मार्फत प्राप्त गर्ने नम्बरका आधारमा खेलाडी छनोट गर्नेछन् ।
खेलाडीको संख्या थोरै भएकाले अक्सन नगरिएको आयोजक कम्पनीका प्रबन्ध निर्देशक छुम्मी लामाले बताए ।
'अक्सन गर्दा राम्रा खेलाडी सबै एउटै टिममा पर्ने सम्भावना रह्यो । खेलाडी समेत निकै थोरै भएका कारणले ड्राफ्टमार्फत वितरण गर्न लागेका हौ ।' उनले खेलपाटीसंग भने ।
प्रतियोगिता खेल्नका लागि १ सय ७ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडी यसअघिनै सार्वजनिक गरिसकेको छ । पहिलो पटक आयोजना हुन लागेको महिला फ्रेन्चाईज लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्स टिम सहभागि छन् ।
सिर्जना जोशीको टिम ललितपुरका मार्की खेलाडी नेरी थापा रहेकी छिन् । यस्तै विनायक पोखरेलको टिम पोखराको मार्की खेलाडी सिता राना मगर, दिपा अग्रवालको टिम क्यापिटलको मार्की खेलाडी रुबिना क्षेत्रि, मिङमा टण्डु शेर्पाको टिम चितवनको मार्की खेलाडी इन्दु बर्मा र पारस लुनियाको टिम विराटनगरको मार्की खेलाडी सरिता मगर रहेकी छिन् ।
प्रतियोगिता असोज ३ गतेबाट ११ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने बताईएको छ ।