एजेन्सी । घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो टी- ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ । मंगलबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ८ विकेटले हराएको हो ।
म्यानचेस्टरमा इंग्ल्यान्डले दिएको १६० रनको लक्ष्य भारतले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा लोकेश राहुलले अविजित १०१ रनको शतकीय पारी खेले । यस्तै रोहित शर्माले ३२ रन जोड्दा कप्तान विराट कोहली २० रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १५९ रन जोडेको थियो । इंग्ल्यान्डको लागि जोस बट्लरले ६९ रनको अर्धशतकीय पारी खेले । यस्तै जासन रोयले ३० तथा डेभिड विलिले अविजित २९ रन जोडे । भारतका कुलदिप यादव एक्लैले ५ विकेट लिए । यस्तै उमेह यादबको नाममा २ विकेट रह्यो ।
यो जितसंगै भारतले ३ खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा १ – ० ले अग्रता बनाएको छ । भारतले टी- ट्वान्टीपछि घरेलु टोलीसंग एकदिवसीय क्रिकेट सिरिज खेल्ने छ ।