एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले यो वर्षको प्रिमियर लिगको उपाधि आफ्नो करियरकै सबैभन्दा कठिन उपाधि रहेको बताएका छन् ।
आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको थियो ।
जितसंगै सिटीले उपाधि होडमा रहेको लिभरपुललाई १ अंकले पछि पार्दै लगातार दोस्रो वर्ष उपाधि जितेको थियो ।
‘हामीले यो उपाधि जित्न लगातार १४ खेल जितेका थियौ,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो मेरो करियरको सबैभन्दा कठिन उपाधि हो ।’
उपाधि जित्ने क्रममा सिटीले यो सिजन ९८ अंक जोड्यो । एक अंकले पछि परेको लिभरपुलले ९७ अंक जोड्यो ।
यस्तै प्रशिक्षक ग्वार्डिओलाले सिटीको उच्च प्रदर्शनमा लिभरपुलको भूमिका उच्च रहेको समेत बताए ।
‘म लिभरपुललाई बधाई दिन चाहन्छु, धेरै धेरै धन्यवाद ।’ प्रशिक्षक ग्वार्डिओलाले थपे, ‘हामीलाई टक्कर दिने त्यो टिमको विरुद्ध पुरा गर्न सक्यौ । दुई सिजनमा १ सय ९८ अंक बनाउनु अविश्वसनीय हो ।’
यसअघि ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनाबाट ३ ला लिगा, जर्मन क्लब वायर्न म्युनिखबाट ३ बुन्डेस लिगा उपाधि जितेका थिए ।