एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा च्याम्पियन युभेन्ट्स पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स रोमासंग २-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा रोमालाई जित दिलाउन एलसान्ड्रो फ्लोरेन्जी र इडेन डेज्कोले एक एक गोल गरे । नयाँ जर्सीसहित मैदान उत्रिएको युभेन्ट्सविरुद्ध रोमाले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ७९ औं मिनेटमा फ्लोरेन्जीले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा डेज्कोले गोल गर्दै रोमाको जित पक्का गरे ।
यता, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीको साथ पाएपनि युभेन्ट्सले गोलको अवसर सिर्जना गर्न सकेनन् ।
यो हारसंगै युभेन्ट्सले लिग लिडर ३६ खेलबाट ८९ अंक जोडेको छ । लिगको उपाधि भने युभेन्ट्सले यसअघि नै जितिसकेको छ ।
जितपछि रोमाले ३६ खेलबाट ६१ अंक जोडेको छ । रोमा छैटौं स्थानमा छ ।