एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिड पुन पराजित भएको छ । आईतबार राति भएको खेलमा रियल मड्रिड क्लब रियल सोसिडाडसंग ३–१ गोल अन्तरले पराजित भएको हो ।
अवे खेलमा रियल मड्रिडले चौथो मिनेटमा अग्रता बनाएको थियो । मड्रिड क्लबका ब्राहिम डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
तर लगातार तीन गोल गर्दै सोसिडाडले घरेलु मैदानमा शानदार कमब्याक गर्यो । २६ औ मिनेटमा मिकेल मिरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
जेसस भालिजो रातो कार्ड खादै मैदान बाहिरिएपछि रियल ३९ औ मिनेटमा १० खेलाडीमा सिमित बनेको थियो । त्यसपछि सोसिडाडले थप दुई गोल गर्यो । जोसेबा जल्डुआले ५७ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । ६७ औ मिनेटमा एन्डर ब्रेरेनेटेक्सले गोल गर्दै सोसिडाडको जित सुनिश्चित गरे ।
दोस्रो स्थानमा रहदै लिग अन्त्य गर्ने गणितिय सम्भावना बाँकी राख्न रियललाई जित आवश्यक थियो । एट्लेटिको मड्रिड पराजित भएको अवस्थामा रियलको सम्भावना बाँकी रहने थियो । तर जिनेदिन जिदान नेतृत्वको क्लबले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने सम्भावना सकिएको छ ।
रियलमा जिदानको पुनरागमनसंगै क्लब राम्रो लयमा फर्किएको अपेक्षा गरिएको थियो । तर क्लब अन्तिम पाँच अवे खेलमा जित निकाल्न असफल रहेको छ । सोसिडाडले सातौ स्थानमा रहदै लिगको अन्त्य गर्ने संकेत गरेको छ ।
रियल मड्रिड ३७ खेलबाट ६८ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ । सोसिडाड ५० अंक सहित आठौं स्थानमा उक्लियो ।