एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिदालले एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ३९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-० को जित निकाल्यो ।
जितसंगै यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले ३७ खेलबाट ८६ अंक जोडेको छ । र, बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायम गरेको छ । एट्लेटिकोको ७५ अंक छ ।
एट्लेटिकोले आइतबार राति सेभियासंग १-१ गोलको बराबरी खेलेको थियो ।