एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा अहिले साविकको विजेता चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको उपाधि भिडन्त निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
चेन्नई मुम्बईलाई पराजित गर्दै उपाधि रक्षाको लक्ष्यमा हुनेछ । तर,यस सिजन मुम्बईविरुद्ध चेन्नईले जित निकाल्न सकेको छैन ।
अघिल्लो तीन भेटमा मुम्बईले चेन्नईलाई हराएको थियो । चेन्नई फाइनलमा मुम्बईसंग बदला लिने योजनासहित मैदान उत्रनेछ ।
यता, मुम्बई अघिल्ला तीन खेलको नतिजाले आत्मविश्वासका साथ मैदान उत्रनेछ । मुम्बई चेन्नईमाथि लगातार चौथो जित निकाल्दै उपाधि जित्न चाहन्छ ।
मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।
हालसम्म दुवै टोलीले समान ३/३ पटक आईपीएलको उपाधि जितेका छन् । यस संस्करणको उपाधि जित्दै दुवै टोली सर्वाधिक चौंथो पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।