काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा सन्दीपले प्रधानमन्त्री कप नखेल्ने बताएका हुन् ।
सन्दीपले पीएम कप क्रिकेटको दौरान आफु आराम गर्ने बताए । 'पीएम कपको समय परिवारसंग बिताउने योजना छ । परिवारलाई समय दिन्छु,' सन्दीपले भने ।
राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलको आयोजनामा पीएम कप जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
एकदिवशीय फर्म्याटमा हुने प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।
यस्तै सन्दीपले टिममा परिपक्कता नहुँदा दिल्ली फाइनल पुग्न नसकेको बताए ।
'हाम्रो कठिन खेलमा कम स्कोर भयो । टिममा परिपक्कता देखिएन । त्यसैले फाइनल पुग्न सकेनौं,' सन्दीपले थपे ।
आईपीएलको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स चेन्नई सुपर किङ्ग्ससंग ४ विकेट पराजित भएको थियो ।