काठमाडौं । एएफसी कप अन्तर्गत नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबसंग प्रतिस्पर्धा गर्न भारतीय क्लब मिनर्वा पन्जाबको टोली नेपाल आईपुगेको छ ।
मनाङसंगको अवे खेलका लागि भारतको आई लिग च्याम्पियन मिनर्वाको टोली आइतबार नेपाल आईपुगेको हो । मिनर्वाको टोलीलाई मनाङका पदाधिकारीले स्वागत गरेका थिए ।
मनाङले होम खेल अन्तर्गत बुधबार मिनर्वासंग खेल्दैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यसअघि भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा मनाङ र मिनर्वाले २-२ गोलको बराबरी खेलेका थिए ।
मिनर्वाका लागि श्रेयस गोपालन र करीम नुरेनले एक एक गोल गरेका थिए । मनाङका अभिषेक रिजाल र एडिलाजा सोमीडेले एक एक गोल फर्काएका थिए ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ । मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।