एजेन्सी । त्रिदेशीय वन डे क्रिकेट सिरिज अन्तर्गत वेष्ट इण्डिजले दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा आयरल्याण्डलाई ५ विकेटले हराउँदै वेष्ट इण्डिजले दोस्रो जित निकालेको हो ।
डुब्लिनमा आयरल्याण्डले दिएको ३ सय २८ रनको लक्ष्य वेष्ट इण्डिजले ४७ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । एकदिवसीय क्रिकेटमा इण्डिजले यति ठुलो लक्ष्य पुरा गरेको पहिलो पटक हो ।
वेष्ट इण्डिजको कीर्तिमानी जितका लागि सुनिल अम्बिर्सले सर्वाधिक १ सय ४८ रनको शतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ४६ तथा जोनाथान कार्टरले ४३ रनको योगदान गरे । आयरल्याण्डका लागि बोएड र्याकिनले ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २७ रन जोडेको थियो । उसका लागि एण्डि बल्ब्राइनले १ सय ३५ रनको शतकीय इनिङ्स खेले । यस्तै पाउल स्ट्रर्लिङले ७७ तथा केभीन ओब्राइनले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
वेष्ट इण्डिजका लागि सान्नोन गाब्रेलले २ विकेट हात पारे ।
जितसंगै वेष्ट इण्डिज तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । वेष्ट इण्डिजले ३ खेलमा ९ अंक जोडेको छ ।
सिरिजको पहिलो खेलमा वेष्ट इण्डिजले आयरल्याण्डविरुद्ध १ सय ९६ रनको कीर्तिमानी जित हात पारेको थियो । वेष्ट इण्डिज दोस्रो खेलमा बंगालदेशसंग ८ विकेटले पराजित भएको थियो ।
बंगालदेश ६ अंकसहित दोस्रो स्थानमा रहदा आयरल्याण्ड २ अंक जोडेर पुछारमा रहेको छ ।