एजेन्सी । अष्ट्रेलियाको बहु चर्चित फ्रेन्चाइज क्रिकेट बिग बास लिग (बीबीएल) मा हरेक क्लबले ६ विदेशी खेलाडी भित्र्याउन पाउने भएका छन् ।
बीबीएलले नयाँ सिजनबाट हरेक क्लबले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान ल्याएको छ । अघिल्लो संस्करणसम्म बीबीएल क्लबले ४ खेलाडी मात्र अनुबन्ध गर्न पाउने नियम रहेको थियो ।
थोरै विदेशी खेलाडी अनुबन्ध गर्दा प्लेइङ सेटमा खेलाडी फेरबदल गर्न कठिनाई हुने गरेको क्लबहरुको गुनासो थियो ।
'हरेक संस्करणको समाप्तिपछि हामीले समर्थकलाई के कुरामा मनोरंजन दिन सक्छौं भनेर लागि परेका छौं,' क्रिकेट अस्ट्रेलियाका कार्यकारी महाप्रबन्धक एन्थोनी एभर्डले भने, 'समर्थकको गुनासो बुझ्दै यस्तो निर्णय गरेका छौं । क्रिकेट अस्ट्रेलिया, लिगका क्लब र ब्रोडकास्ट पार्टनरसंगको सहमतीमा हरेक क्लबले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने निर्णय भएको हो ।'
विदेशी खेलाडीको अनुबन्धको कोटा थप गरेपनि एक खेलमा २ मात्र विदेशी खेलाडी खेलाउनु पर्नेछ ।
लिगका ८ टिमले थप २ विदेशी खेलाडी अनुबन्धन गर्दा थप १६ विदेशी खेलाडीले मौका पाउने छन् ।
गत संस्करणको बीबीएलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्ट्रार्सबाट डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गत सिजन सन्दीपले ७ खेलमा ११ विकेट हात पार्दै मेलबर्नलाई फाइनल पुग्न सहयोग गरेका थिए ।