सिन्धुपाल्चोक । चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिताको उपाधिका लागि ए डिभिजनको जावलाखेल युथ क्लब र गोर्खा ब्वाईज क्लब रुपन्देहीबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ ।
१३ बर्षपछि फर्किएको प्रतियोगिताको उपाधिका लागि दुवै टोली भिड्न लागेका हुन् ।
लामोसाधुस्थित बसन्तपुर मैदानमा हुने फाइनल खेलले प्रतियोगितामा नयाँ च्याम्पियन जन्माउनेछ । फाईनल खेल दिउँसो साँढे ३ बजे सुरु हुनेछ ।
दुबै टिम फाइनल खेल जित्ने दाउमा रहने छन् । प्रतियोगिता जित्ने टिमले सिजनको पहिलो उपाधि हात पनि पार्नेछ ।
जावलाखेल र गार्खा ब्वाइज रुपन्देहीले नयाँ सिजनमा कुनै पनि उपाधि हात पारेका छैनन् ।
जावलाखेलले उद्घाटन खेलमा काभ्रे बोर्डस् युथ क्लब र सेमिफाइनलमा युथ स्पोर्टस् क्लब आयोजकलाई हराएको थियो ।
यस्तै गोर्खा ब्वाइज क्लब रुपन्देहीले भने दुबै खेलमा पेनाल्टीमा जित निकाल्यो । उसले दुबै खेलमा ए डिभिजन क्लबलाई पराजित गरेको हो । पहिलो खेलमा फ्रेन्ड्सलाई पराजित गरेको गोर्खाले दोस्रो खेलमा एपीएफलाई हराएको थियो ।
सिन्धुकपको चौथो संस्करणसम्म आईपुग्दा आयोजक युथ स्पोर्टस् क्लब, सुनकोशी युथ क्लब र एपीएफ विजयी भएका छन् ।
प्रतियोगिताको विजेताले ५ लाख हात पार्नेछ । यस्तै उपविजेताले २ लाख ५० हजार पाउने आयोजक युथ स्पोर्टस् क्लबले जनाएको छ ।