एजेन्सी । ब्राजिली डिफेन्डर डेभिड लुईजले लण्डन क्लब चेल्सीसंगको अनुबन्धन २ बर्ष थप गरेका छन् । प्रिमियर लिगमा प्रभावशाली प्रर्दशन गर्दै आएका लुईजले सन् २०२१ सम्म क्लबमै रहने निर्णय गरेका हुन् ।
क्लबसंग लुईजको सम्झौता यसै सिजनको अन्तिममा सकिदै थियो । उनले सबै सम्भावनालाई बन्द गर्दै चेल्सीमै बस्ने निर्णय लिएका हुन् । ३२ बर्षका डिफेन्डरले मुख्य प्रशिक्षक माउरिजियो सर्रीको योजनामा आफुलाई प्राप्त गरेपछि लण्डन बसाईलाई निरन्तरता दिने निर्णयमा पुगेका हुन् ।
सम्झौतापछि लुईजले भने, 'म यहाँ निकै खुसी छु । र यहाँ बस्ने अवसर पाएकोमा अझै खुसी छु । म यो क्लबलाई माया गर्छु । र मसंग युवा खेलाडी जस्तो लक्ष्य अझैपनि छ ।'
'हामी युरोपेली फाईनलमा प्रवेश गरेका छौ । तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने अवसर हामीलाई प्राप्त छ । म यसलाई निरन्तरता दिदै क्लबलाई सहयोग गर्न चाहन्छु ।' उनले थपे ।
चेल्सीका निर्देशक मारिना ग्रानोभास्कायाले क्लबको हरेक सफलतामा लुईज केन्द्रमा रहेको भन्दै सम्झौता नविकरणले चेल्सी प्रसन्न भएको उल्लेख गरेकी छिन् ।