एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले फ्रेन्चाईज प्रतियोगिता दोस्रो संस्करण भारतमा आयोजना गर्न भारतीय क्रिकेट बोर्ड बीसीसीआईसंग अनुमती मागेको छ ।
सुरक्षाका कारण देखाउँदै अफगानिस्तानले भारतका केही मैदानलाई अफगानिस्तान प्रिमियर लिग एपीएल खेलाउन प्रस्ताव अघि सारेको सारेको हो ।
पहिलो संस्करणको एपीएल दुवईमा आयोजना भएको थियो । अफगानिस्तानले यसअघि घरेलु मैदानको रुपमा भारतलाई प्रयोग गर्दै आएको छ । अब फ्रेन्चाईज प्रतियोगिताकालागि समेत अगगानिस्तानले भारतीय मैदानको सहयोग मागेको हो ।
लिस्ट ए जस्ता घरेलु प्रतियोगिता भने अफगानिस्तानले आफ्नै देशमा गराउदै आएको छ ।
तर एपीएलमा विश्वका थुप्रै क्रिकेटका हस्तीले सहभागी जनाउने हुँदा उनीहरुको सुरक्षालाई हेरेर अफगानिस्तानले भारतको कोलकाता तथा लखनउलाई प्रस्ताब गरेको हो ।
सन् २०१५ देखि अफगानिस्तानले भारतको ग्रेटर नोयोडालाई आफ्नो घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको छ ।
गत बर्ष उसले देहरादुनको राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई दोस्रो घरेलु मैदानको रुपमा प्रयोग गरेको थियो ।
सो रंगशालामा अफगानिस्तानले पहिलो पटक बंगलादेशबिरुद्द टी ट्वान्टी सिरिज खेलेको थियो । सोही मैदानमा आयरल्याण्डलाई एक टी ट्वान्टी, ५ खेलको एक दिवसीय सिरिज तथा एक टेस्ट खेलमा आतिथ्यता प्रदान गरेको थियो ।
सानो खेल मैदानबाट सुरु गरेको अफगानिस्तानले बिस्तारै भारतको मुख्य सहरमा प्रतियोगिता गर्न प्रस्ताव गर्न थालेको छ ।
अफगानिस्तानले वेष्ट इण्डिजबिरुद्दको टी ट्वान्टी र एक दिवसीय सिरिजका लागि भारतसंग कोलकाता तथा लखनउलाई आफ्नो घरेलु मैदानको रुपमा प्रयोग गर्न दिन आग्रह गरेको छ ।
’हामीले केहि दिनमा भारत क्रिकेट बोर्डसंग भेट्दै छौं ।’ अफगानिस्तान क्रिकेट बोर्डका सिइओ असादुल्ला खानले बताए, ‘देरादुनमा ५ तारे होटल छैनन् र इण्डिजका खेलाडीलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्नु पर्ने भएका कारण ठुलो सहरको लागि प्रस्ताब राखेका छौं ।’
’हामीले फ्रेन्चाइज लिग एपीएलको लागि समेत भारतको मैदान प्रयोग गर्न पाउँ भनेर आग्रह गरेका छौं ।’ उनले थपे ‘अफगानी जनता लखनउ क्षेत्रमा बसोबास गर्छन् र त्यहाँ सुबिधा सम्पन्न होटलको पहुँच भएका कारण हाम्रो लागि लखनउ उपयुक्त स्थान हुनेछ ।’