काठमाडौं । मिडफिल्डर जगजित श्रेष्ठ राष्ट्रिय फुटबल टिमका प्रारम्भिक प्रशिक्षणमा सहभागि हुन नेपाल फर्किएका छन् ।
अष्ट्रेलियामा बस्दै आएको जगजित अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको विश्वकप तयारीको प्रारम्भिक प्रशिक्षणमा जोडिएका छन् ।
राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका उनी पछिल्लो समय देश बाहिर थिए ।
घरेलु फुटबलका गतिविधि शुन्य प्राय रहेपछि उनी देश बाहिर बस्दै आएका थिए ।
उनी अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा बसेर अभ्यास गरिरहेका छन् ।
‘अस्ति मात्र हो नेपाल आएको ।’ खेलपाटीसंगको संवादमा जगजितले भने, ‘प्रशिक्षकसंग कुराकानी भएको थियो । उहाँले छनोटमा बोलाएको हो । दुई हप्तापछि छनोट हुनेछ । टिममा परेमा नेपाल बस्छु, नपरेमा बिदेशनै फिर्ता हुनेछु ।’
घरेलु फुटबलका लोकप्रिय मिडफिल्डर जगजितले नेपाली फुटबलका ठुला क्लब थ्री स्टार, मनाङ लगायतका टिमबाट खेलिसकेका छन् ।
बल होल्ड गर्दै आक्रमक फुटबल खेल्न रुचाउने उनले राष्ट्रिय टिमबाट समेत एक अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् २०१६ को साफमा नेपालको प्रतिनिधित्व गरेर सो गोल गरेका थिए ।
पछिल्लो समय उनी सन् २०१८ को एसिया छनोटको टिममा परेका थिए । तर उनले खेल्न पाएका थिएनन् ।