एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले सेमिफाइनलको खेलअघि बार्सिलोनालाई हराउन असम्भव रहेको बताएको खुलेको छ ।
मंगलबार राति दोस्रो लेगमा घरेलु मैदानमा लिभरपुलले बार्सिलोनालाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
लिभरपुल फाइनल प्रवेशपछि क्लोप आफै आश्चार्य चकित परेका थिए ।
नाटकीय जित निकाल्दै फाइनल यात्रा तय गरेपछि उनले सो कुरा खुलाएका हुन् ।
‘खेल सुरु हुनु अघि मैले बार्सिलोनालाई जित्न असम्भव छ भनेको थिए । तर तिमीहरु छौ, यो सम्भव छ भनेर खेलाडीलाई बताएको थिए ।’ नतिजापछि क्लोपले बताए ।
‘खेलाडीहरु मानसिक रुपमा निकै बलियो देखिए, जुन अविश्वसनीय छ ।’ उनले थपे ।
‘हामीले विश्वको उत्कृष्ट क्लबसंग खेल्यौ । खेल अवधिभर निकै भारी महसुस भयो ।’ उनले थपे, ‘कुनै गोल नखाएर खेल जित्नु निकै ठुलो कुरा हो । थाहा छैन, खेलाडीले कसरी सम्भव बनाए ?’
फरवार्डद्वय मोहमद सलाहा र रोबर्टो फिर्मिनोबिना लिभरपुलले ऐतिहासिक जित दर्ता गरेको थियो ।
‘जेम्स मिल्नर मैदानमा रोईरहेको देखें जुन ठुलो सफलता हो । यसलाईनै फुटबलको उत्कृष्ट चरण मानिन्छ ।’ उनले थपे, ‘संसारमा यो भन्दा महत्वपुर्ण थुप्रै कुरा छन् तर यस्तो खेलाडीसंग भावनात्मक वातावरणमा हुनु निकै खास हुन्छ ।’