एजेन्सी । दोस्रो पटक विश्वकप क्रिकेटमा सहभागिता जनाउन लागेको अफगानिस्तानले सेमिफाईनल पुग्ने लक्ष्य राखेको छ । खेलाडी छनोट समितिका प्रमुख दलत खान अमद्जाइले टिमको सुरुवाती लक्ष्य सेमिफाइनल पुग्नु रहेको प्रष्ट पारेका छन् ।
युवा स्टार राशिद खान र मुजिब उर रहमानको प्रदर्शन तथा टिमका खेलाडीको लयलाई हेर्दा अफगानिस्तानले सेमिफाइनल पुग्ने विश्वास लिएको बताए ।
अफगानि टोली दुई स्टार खेलाडीमा मात्र निर्भर नरहेको उनको भनाई छ ।
अफगानिस्तानको टोलीमा केही अनुभबी खेलाडीको आगमनले सेमिफाइनलसम्मको यात्रा तय गर्न सहज हुने खानले बताए ।
३१ बर्षे पेस बलर हामिद हसन ३ बर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । उनले सन् २०१६ पछि कुनै अन्तराष्ट्रिय खेल खेलेका छैनन् ।
एक दिवसीय बरियतामा अफगानिस्तान १० औं स्थानमा रहेको छ ।
तर अफगानिस्तानको स्थापित टिमलाई निराशा पार्ने नीति क्रिकेट बोर्डको अख्तियारी गरेको देखिन्छ ।
गत बर्ष विश्वकप छनोट प्रतियोगितामा विष्ट इण्डिजलाई पराजित गर्दै च्याम्पियन बनेको अफगानिस्तानले एसिया कपमा श्रीलंकालाई पराजित गर्दा भारतसंग अप्रत्यासित बराबरी खेलेको थियो ।
बलियो अवस्थामा रहेको अफगानि टिममा अचानक फेरबदल गरिएको थियो ।
नियमित कप्तान अजगर अफघानीको स्थानमा गुलाबदीन नाइबलाई ल्याईएको थियो ।
अफघानीलाई कप्तानको भुमिकाबाट हटाएपनि विश्वकप टोलीमा समावेश गरिएको छ ।
उनलाई कप्तानबाट बर्खास्त गरेको भन्दै राष्ट्रिय टिमका धेरै खेलाडीले क्रिकेट बोर्डको आलोचना गरेका थिए ।
‘राशिद र नाबी सहित पुरा टिम अहिले गुलाबदीनको नेतृत्वमा खुसी देखिएका छन् ।’ अमद्जाइले थपे, ‘गुलाबदीन नयाँ खेलाडी होइनन्, उनले १७ बर्षदेखि खेल्दै आएका छन् र पहिलो स्तरका तथा यु १९ टोलीको कप्तानी समेत गरिसकेका छन् ।’
‘पहिलो विश्वकपमा रशिद र मुजिब थिएनन् । उनीहरुको मद्दतमा राष्ट्रिय टिमले यसपटक केही राष्ट्रलाई चकित पार्दै सेमिफाइनलको यात्रा गर्ने आश गरेका छौं ।’ उनले थपे ।
अफगानिस्तानले अस्ट्रेलियाबिरुद्द जुन १ मा खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।