एजेन्सी । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले च्याम्पियन्स लिगको असफलताको जिम्मेवार सबै जना रहेको बताएका छन् । सेमिफाईनलको दोस्रो लेगमा ४–० ले पराजित भएपछि बार्सा मिडफिल्डरले सो कुरा बताएका हुन् ।
लियोनल मेस्सीबाट प्रेरित बार्सिलोना ३–० को नतिजा सहित एनफिल्डमा प्रवेश गरेको थियो । तर फकर्दा अविश्वसनीय हारको साक्षी बस्यो ।
एनफिल्डमा सुरुबाट आक्रमक देखिएको लिभरपुलले डिभोक ओरिगीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमै मैदान छिरेका जर्जिनियो वाइनाल्डमले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।
अन्तिममा ट्रेन्ट अलेक्जेन्डरको चलाखीपुर्ण कर्नर पासमा गोल गर्दै ओरिगीले लिभरपुललाई उत्कृष्ट पुनरागमनको जित दिलाए ।
बार्सिलोना लगातार दुई सिजन अप्रत्यासित हार सहित च्याम्पियन्स लिगबाट बाहिरिने अभागी टोली बन्यो । अघिल्लो बर्ष समेत रोमासंग ४–१ को हार सहित प्रतियोगिताबाट बाहिरिएको थियो ।
बुस्केटले सुरुवातबाटै टिमले हल्का रुपमा लिदाँ अघिल्लो बर्षको नियती दोहरिएको बताए ।
'उनीहरु हामी भन्दा राम्रो थिए । उनीहरु सुरुबाटै खेलमा फर्कने कोशिश गरेका थिए । उनीहरुले सुरुबाट दबाब सिर्जना गरेका थिए । यो निकै कठिन अवस्था रह्यो ।' बुस्केटले खेलपछि भने ।
'हामीहरुले अवसर सिर्जना गर्न सकेनौ । हामी क्षमाप्रार्थी छौ किनकी रोमापछि यो पुन दोहरिएको छ ।' उनले थपे ।
'यदी टिमले तिमीलाई दबाब दिएर खेल्छ, र तिमी त्यो अवसर सिर्जना गर्न सक्दैनौ भने सबै नतिजा परिवर्तन हुन सक्छ ।' उनले भने ।
बार्सिलोनाले यसअघिनै ला लिगाको उपाधि जितिसकेको छ । उसले लिगमा अब दुई खेल खेल्न बाँकी छ ।