एजेन्सी । बार्सिलोनाका स्टार लुईस स्वारेजले लिभरपुलबिरुद्द गोलको खुसियाली नमनाउने बताएका छन् । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको दोस्रो लेगको खेलमा आज राति लिभरपुलले घरेलु मैदान एनफिल्डमा बार्सिलोनालाई आतिथ्यता प्रदान गर्दैछ ।
पहिलो लेगको २६ औं मिनेटमा गोल गरेका बार्सिलोनाका स्टार स्वारेजले लिभरपुलका समर्थक बसेको दर्शकदिर्घामा दुवै घुँडा घिसारेर गोलको खुसीयाली मनाएका थिए ।
पुर्व क्लबविरुद्व गोलको खुसी मनाएको भन्दै स्वारेजलाई धेरै समर्थकले आलोचना गरेका थिए । पुर्व क्लबविरुद्व गोलको खुसीयाली मनाएको भन्दै धेरै समर्थक उनीसंग रुष्ट देखिन्थे ।
आलोचना बढेसंगै उनले क्षमा मागेका छन् । साथै उनले दोस्रो लेगको खेलमा गोलको खुसी नमनाउने बताएका छन् ।
‘फुटबल समर्थन गर्ने ब्यक्तिलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा हुने गोलको महत्व थाहा हुन्छ ।’ स्वारेजले भने, ‘म लिभरपुलका समर्थकलाई निकै आधार गर्छु र निकै आभारी रहेको छु । यदि अब लिभरपुलबिरुद्द गोल गरे भने सो तरिकाले खुसियाली मनाउने छैन् ।’
लिभरपुलको खेलाडी रहँदा धेरै कुरा सिकेको र व्यवसायीक खेलाडी बनाउन क्लबको ठुलो योगदान रहेको स्वारेजले बताए ।
‘लिभरपुलको कप्तानी गरेको क्षण म कहिल्यै बिर्सने छैन । त्यो मेरो लागि निकै गर्वको कुरा थियो ।’ स्वारेजले थपे ।
‘अहिले म बार्सिलोनामा हुनुको कारण लिभरपुल हो ।’ स्वारेजले भने, ‘मैले यहाँ धेरै कुरा सिकेको छु जसको सधै आभारी रहनेछु । लिभरपुलको समर्थकले पनि मैले गरेको योगदान बुझेको हुनुपर्छ ।’
लिभरपुल पहिलो लेगमा बार्सिलोनासंग ३–० गोल अन्तरले पराजित भएको थियो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ तथा स्वारेजले १ गोल गरेका थिए ।