एजेन्सी । विश्वकपका लागि वेष्ट इण्डिजले क्रिस गेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । कप्तानीको जिम्मेबारी भने अल राउण्डर जेसन होल्डरले निर्वाह गर्ने छन् ।
बिगतमा वेष्ट इण्डिजको नेतृत्व गरेका गेल केही समय यता राष्ट्रिय टोलीमा स्थान पाएका थिएनन् । क्रिकेट बोर्डले केही मुद्दाका कारण इण्डिजका केही खेलाडीलाई राष्ट्रिय टोलीबाट बाहिर राखेको थियो ।
‘वेष्ट इण्डिजको नेतृत्व गर्नु गर्बको कुरा हो । विश्वकप अझ खास हुनेछ ।’ गेलले भने ।
‘सिनियर खेलाडीको हकमा कप्तान तथा सबै खेलाडीलाई सहयोग गर्नु जिम्मेवारी र दायित्व हो । विश्वकप निकै खास हुनेछ र सबैसंग ठुलो अपेक्षा रहेको छ । वेष्ट इण्डिजका समर्थकको लागि राम्रो नतिजा ल्याउनेमा बिश्वस्त रहेका छौं ।’ उनले भनेका छन् ।
गेल पछिल्लो एक दिवसीय क्रिकेटमा निकै राम्रो लयमा देखिएका छन् । उनले पछिल्लो ४ खेलमा १ सय ३५, ५०, १ सय ६२ र ७७ रन बनाएका छन् ।
गेलले हालसम्म २ सय ८९ एक दिवसीय खेलमा ५१ अर्धशतक र २५ शतक सहित १० हजार १ सय ५१ रन बनाउन सफल रहेका छन् ।
गेल वेष्ट इण्डिजका लागि सर्वाधिक रन बनाउने पहिलो खेलाडी हुन् ।