काठमाडौं । मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश ७ र प्रदेश २ भिड्ने भएका छन् ।
पहिलो सेमिफाइनल खेलमा प्रदेश ७ ले प्रदेश १ लाई ३० रनले पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।
१ सय ६६ रनको लक्ष्य पछ्याएको प्रदेश १ टोली २५ ओभर २ बलमा १ सय ३५ रनमा समेटिन पुग्यो ।
प्रदेश १ का सुमन सुन्दासले सर्वाधिक ४४ रन बनाए । यस्तै इन्स्टेन रिजालले ३१ तथा सिम्रन राईले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । प्रदेश ७ का सुवास ऐरले ४ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउदै १ सय ६५ रन बनाएको थियो । सुवास ऐरले सर्वाधिक ४३ रन बनाएको ईनिङ्समा आशिष भट्टले २६, धिरेन्द्र ठाकुरले २५, सन्दीप बिष्टले २२ तथा अनिल थापाले २० रनको योगदान गरे ।
प्रदेश १ का श्रावन किस्कुले ३ तथा बिपिन महत्वले २ विकेट लिए ।
दोस्रो सेमिफाइनल खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ४ विकेटले पाखा लगाएको छ ।
१ सय २२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । मेघराज महोराले अविजित ४७ रन जोडेको ईनिङ्समा निखिल सिंहले ३२ तथा रोहन बिकले २१ रनको योगदान गरे । प्रदेश ३ का तिलक भण्डारी र क्रिस कार्कीले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । आशिष भट्टराईले सर्वाधिक २७ रन बनाएको ईनिङ्समा प्रशान्त महतले २२ तथा बिपिन बिक्रम शाहीले १३ रन बनाए ।
प्रदेश २ का शेख इमरान र अरबाज अन्सारीले समान २-२ विकेट हात पारे ।
फाइनल खेल भोली १ बजे हुनेछ ।