एजेन्सी । रोहित शर्माको अर्धशतकको मदतले मुम्बई इन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पहिलो क्वालिफायरका लागि छनोट भएको छ ।
लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै मुम्बईले चेन्नेईसंग पहिलो क्वालिफायर खेल पक्का गरेको हो ।
१ सय ३४ रनको लक्ष्य मुम्बईले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पुरा ग¥यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५५ रन बनाए । क्विनटन डी ककले ३० रन बनाउँदा सुर्यकुमार यादव ४६ रनमा नटआउट रहे ।
निर्णायक खेलमा पराजित हुँदै कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकत्ताले पराजय भोग्दा सनराइजर्स हैदरावाद प्लेअफमा छनोट भएको छ । कोलकत्ता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा छानिएको हो ।
यसअघि, मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।
क्रिस लिनले ४१ र रोविन उथ्थपाले ४० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । पछिल्ला क्रमका ब्याट्सम्यान नितिश रानाले १३ बलमा २६ रन बनाए ।
मुम्बईका लासिङ मालिङ्गाले सर्वाधिक ३ विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको नाममा समान २–२ विकेट रह्यो ।