एजेन्सी । विश्वकप फुटबलमा लज्जास्पद पराजयका बाबजुत जर्मनीका प्रशिक्षक जोचिम लेउले जागिर जोगिने भएको छ । जर्मन फुटबल संघले विश्वकपको खराब नतिजाका बाबजुत प्रशिक्षक लेउलाई निरन्तरता दिने निर्णय गरेको हो ।
पुर्व विश्व विजेता जर्मनीले रुसी विश्वकपमा समुह चरणबाटै बाहिरिएको थियो । मेक्सिको, स्विडेन र साउथ कोरिया सम्मिलित टोलीमा जर्मनी अन्तिम स्थानमा रहदै बाहिरिएको थियो ।
युरोपेली राष्ट्रसंगको खराब नतिजा र एसियन राष्ट्रसंगको लज्जास्पद पराजयले प्रशिक्षक लेउको भविष्यलाई लिएर विभिन्न अडकलबाजी सुरु भएको थियो । स्वयम लेउले समेत विश्वकपको नतिजाबाट आफु निकै निराश र हतास भएको भन्दै टोली छाड्न सक्ने बताएका थिए ।
जर्मन फुटबल संघले विभिन्न अध्ययन प्रतिवेदनपछि प्रशिक्षकमा लेउलाई निरन्तरता दिने निर्णय सुनाएको थियो । विश्वकप अगाडी प्रशिक्षक लेउले सन् २०२२ सम्मै टोली सम्हाल्ने गरि नयाँ सम्झौता गरेका थिए ।
फुटबल संघको निर्णयको स्वागत गर्दै प्रशिक्षक लेउले यसले आफुलाई सहयोग र आत्मविश्वास प्रदान गरेको बताएका छन् ।
‘यो मेरालागि निकै महत्वपुर्ण छ । केही दिनयता म आफै धेरै सोचिरहेको थिए । तर अब नयाँ डिजाईनकासाथ टिमको पुर्णनिर्माण गर्न चाहन्छु ।’ उनले भनेका छन् ।