काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ गते सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलले आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मलेन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म सञ्चालन गर्ने घोषणा गरेका छन् ।
घरेलु क्रिकेटमा पछिल्लो समय फ्रेन्चाईज प्रतियोगिताले लोकप्रियता कमाईरहेको समय सरकारले नीजि कम्पिनीसंग सहकार्य गरेर ५० ओभरको प्रतियोगितालाई निरन्तरता दिन लागेको हो ।
प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।
प्रतियोगिताका लागि १ करोड ७५ लाख रुपैयाँ लाग्ने बताईएको छ । जसमा परिषदले ८० लाख र बाँकी रकम नेपालयले जुटाउनेछ ।
पत्रकार सम्मेलनमा नेपालयका प्रबन्ध निर्देशक सुबास प्रधानले एकदिवसीय मान्यता प्राप्त देश नेपालमा ५० ओभरको खेल आवश्यक भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले क्रिकेटमा नीजि कम्पनीलाई आकर्षित गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि नीजि संस्थासंग सहकार्य गरिरहेको बताए ।