काठमाडौं । ए डिभिजन क्लब जावलाखेल युथ चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सिन्धुपाल्चोकको लामोसांघुस्थित बसन्तपुर खेल मैदानमा शनिबार भएकाे उद्घाटन खेलमा जावलाखेलले काभ्रे बोर्डर युथ क्लबलाई ४–३ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता काभ्रेले १९ औ मिनेटमा बिरेन्द्र थापाको गोलबाट लिएको थियो । २७ औ मिनेटमा साजन दंगालले टोलीको अग्रता दोब्बर पारेका थिए ।
जावलाखेलका कुलदिप कार्कीले ३१ औ मिनेटमा गोल गर्दै खेल २–१ को स्थितीमा ल्याएका थिए ।
जावलाखेलका फोडे फोफानाले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै पहिलो हाफ २–२ को बराबरीमा सकाएका थिए ।
दोस्रो हाफमा पुन अग्रता काभ्रे बोर्डरले लियो । अचल खड्गीले ४८ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए । तर ७७ औ मिनेटमा जावलाखेलका अफ्रिकन खेलाडी डेनिसले गोल गर्दै खेल ३–३ को स्थितीमा ल्याए ।
७७ औ मिनेटमा फोफानाले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई पुनरागमन जित दिलाए । युथ स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता शनिबारबाट सुरु भएको हो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले साँढे २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार र विधागत तर्फका उत्कृष्टले जनही १० हजार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।