काठमाडौं । मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ र प्रदेश ४ ले पहिलो जित दर्ता गराएका छन् ।
शनिबार भएको खेलमा प्रदेश १ ले प्रदेश ५ माथि १ विकेटको रोमाञ्चक जित हात पार्यो । १ सय २६ रनको लक्ष्य प्रदेश १ ले अन्तिम बलमा छक्का प्रहार गर्दै पुरा गरेको हो ।
प्रदेश १ लाई जित दिलाउन सुमन सुन्दासले सर्वाधिक ४१ रन बनाए ।
यस्तै इन्स्टेन रिजालले ४० तथा सिम्रन राईले १० रनको योगदान गरे । प्रदेश ५ का अभिषेक गौतमले ३ तथा रमेश कुर्मीले २ विकेट हात पारे ।
पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले २८ ओभरमा १ सय २५ रनमा अलआउट भएको थियो ।
प्रकाश गिरीले ५१ रनको अर्धशतकीय पाली र अभिषेक गौतमले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
प्रदेश १ का बिपिन महत्वले ३ तथा समिर तिमिल्सनाले २ विकेट हात पारे ।
खेलको म्यान अफ द म्याच प्रदेश १ का सुमन सुन्दास घोषित भए ।
दोस्रो खेलमा प्रदेश ६ लाई प्रदेश ४ ले ९ विकेटले पराजित गरेको छ ।
८८ रनको सामान्य लक्ष्य प्रदेश ४ ले २२ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश ४ लाई पहिलो जित दिलाउन अर्जुन कुमालले अविजित ४९ रनको पाली खेले । यस्तै सिम्रन श्रेष्ठले १७ तथा सोहिल कुँवरले ७ रनको योगदान गरे । प्रदेश ६ का सुरज बुढाथोकीले १ विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ टोली २० दशमलव ३ ओभरमा ८७ रनमा समेटियो ।
दिलिप सुनारले ४४ तथा युनिष बिक्रम सिंहले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
प्रदेश ६ लाई सास्तैमा समेट्न प्रदेश ४ का विश्व कार्कीले ४ तथा नितेश गिरीले २ विकेट हात पारे ।
खेलको म्यान अफ द म्याच प्रदेश ४ का अर्जुन कुमाल घोषित भए ।
प्रतियोगितामा समुह ए बट प्रदेश ३ र प्रदेश ७ एक खेल पहिलेनै सेमिफाइनल प्रवेश गरिसकेका छन् । समुह बीबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्न बाँकी छ ।