काठमाडौँ । सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले उचालेको छ ।
शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्याे । उपविजेता हाेराइजनले २ लाखमा प्राप्त गर्याे ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटियो । होराइजनका लागि बिशाल सुनारले २६ रन बनाए ।
निश्चल चौधरीले १९, राहुल प्रजापति १२ तथा सुनिल धमलाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३/३ विकेट हात पारे ।
टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो ।
हरिबहादुर चौहानले ५६ रनको अर्धशतकीय पाली खेल्दा राजु रिजालले ३४ तथा भीम शार्कीले २१ रन बनाए । होराइजनका बिकाश श्रेष्ठले २ विकेट लिए ।
फाइनल खेलका म्यान अफ द म्याच आर्मीका हरि बहादुर चौहान घोषित भए ।