काठमाडौँ । क्रिकेटर कबिता कुँवरलाई स्वर्गीय प्रमोद बज्राचार्य एनसीएसएस सेवा सम्मानबाट पुरस्कृत गरिएको छ । नेपाली क्रिकेट समर्थक समाज एनसीएसएसले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै कुँवरलाई इमर्जिङ क्रिकेटरको रुपमा अवार्डबाट सम्मान गरेको हो ।
उनलाई सम्मान सहित नगद पच्चिस हजार रुपैयाँ प्रदान गरियो । समाजले आफ्ना पुर्व कोषाध्यक्ष स्वर्गीय प्रमोद बज्राचार्यको सम्झनामा पुरस्कार प्रदान गर्दै आएको छ । उसले गत बर्ष सम्मानका लागि अक्षय कोषको समेत निर्माण गरेको थियो ।
समाजले कबिता कुवँर, बिन्दु रावल र अप्सरी बेगमलाई मनोनयमा रहेको थियो । अवार्ड प्रदान गर्नका लागि एनसीएसएस र नेपाल खेलकुद पत्रकार मन्चबाट एक/एक प्रतिनिधि र प्रशिक्षक बिनोद दासलाई राखेर छनोट समिति गठन गरिएको थियो ।
यसै बर्ष थाईल्याण्डमा भएको टी ट्वान्टी स्म्यास, आईसीसी विश्वकप छनोट र आठौँ राष्ट्रिय खेलकुदमा खेलाडीले गरेको मुल्यांकनका आधारमा पुरस्कारको घोषणा गरेको हो ।
गत बर्ष इमर्जिङ खेलाडीको अवार्डबाट हरि बहादुर चौहानलाई पुरस्कृत गरिएको थियो । यस बर्ष महिला खेलाडीलाई हौसला प्रधान गर्ने लक्ष्य सहित समाजले महिला खेलाडीलाई अवार्ड प्रदान गरेको हो ।