काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार क्यानको निर्वाचन प्रक्रिया अघि बढेको हो ।
नयाँ विधान अनुसार निर्वाचन गराउने अधिकार पाएको स्वतन्त्र कमिटिले प्रक्रिया अघि बढाउन नसक्दा आईसीसीले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो । उसले कमिटिका कानुनी सल्लाहाकार राजेश्वर श्रेष्ठलाई पत्र लेख्दै निर्वाचन प्रक्रियाको बिषयमा प्रश्न समेत गरेको थियो ।
स्वतन्त्र कमिटिले यसअघि भएका जिल्ला निर्वाचनको कागजपत्र छानविन गरेर नयाँ चुनावी प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर विभिन्न जिल्लाबाट निर्वाचनको काजगपत्र समयमा नआउँदा निर्वाचन प्रक्रिया अवरुद्व बनेको थियो ।
स्वतन्त्र कमिटिले १९ वटा सदस्य जिल्लालाई पत्र लेख्दै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उसले साधारण सभाको बैठक आह्वान गरेर कार्यसमितिको चयन सहित केन्द्र र प्रदेशमा प्रतिनिधि तोक्ने एजेण्डा समेत जिल्ला कमिटिमा पठाएको थियो ।
स्वतन्त्र कमिटिले क्यानका ३९ जिल्ला मध्य २० जिल्लाको निर्वाचनलाई मान्यता दिदै बाँकी १९ जिल्लामा नयाँ निर्वाचन गराउने निर्णय गरेको छ । उसले १२ जिल्लामा नयाँ सदस्यता सहित र ७ जिल्लामा पुरानै सदस्यता सहित निर्वाचन गराउने निर्णय गरेको हो ।
नयाँ सदस्यता सहित चुनाव गराउने जिल्लामा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर, नुवाकोट, इलाम, स्याङजा, झापा, दार्चुला र डोटी रहेका छन् । यस्तै, महोत्तरी, काठमाडौँ, चितवन, मोरङ, कैलाली, सप्तरी र दाङमा भने पुरानै सदस्यता अनुसार निर्वाचन हुनेछ ।
कमिटिले निर्वाचनको मान्यता दिएको जिल्लामा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, नवलपरासी, कपिलबस्तु, बर्दिया, बाँके, सुर्खेत, रुपन्देही, कन्चनपुर, डडेलधुरा, बझाङ, आछाम र बैतडी रहेका छन् ।
नयाँ सदस्यता सहित निर्वाचन गराउने पत्र पाएका जिल्लाले सात दिन भित्र नयाँ सदस्यताका लागि पत्रिकामा सुचना निकाल्नुपर्नेछ । सुचना निकालिएको १५ दिन भित्र सदस्यता लिन चाहने क्लब वा ब्यक्तिले जिल्ला संघमा निवेदन दर्ता गर्नुपर्नेछ । लगत्तै मापदण्ड पुगेका क्लब वा ब्यक्तिलाई सदस्यता वितरण गरिनेछ । र स्वतन्त्र कमिटिले साधारण सभा आह्वानका लागि नयाँ पत्र पठाउनेछ ।
पुरानै सदस्यता सहित निर्वाचन गराउने जिल्लाले भने पत्र प्राप्त भएको ७ दिन भित्र बैठक बसेर १५ दिनको समयसिमा सहित साधारण सभाको आह्वान गर्नुपर्नेछ । सभाले नयाँ कार्यसमिति चयनसंगै केन्द्र र प्रदेशका लागि प्रतिनिधि समेत छनोट गर्नेछ ।
स्वतन्त्र कमिटिका कानुनी सल्लाहाकार श्रेष्ठले अधिकांश जिल्ला संघलाई साधारण सभाको आह्वान गर्न आग्रह गर्दै पत्र पठाईएको बताए ।
‘धेरै जिल्लामा चिठी पठाईएको छ । केही जिल्लामा बाँकी छ । केही दिन भित्रमा सबै जिल्लामा पत्र पुगिसक्नेछ ।’ उनले भने, ‘अघिल्लो निर्वाचनको कागजपत्रलाई प्रतिक्षा गर्दा समय ढिला हुन पुग्यो । अब सबै जिल्लाको निर्वाचन प्रक्रिया अघि बढेको छ ।’
पुरानै सदस्यता अनुसार निर्वाचन गर्ने म्यानडेट पाएको चितवन जिल्लाले साधारण सभाको मिति समेत तय गरेको छ । चितवनको साधारण सभा जेठ ४ गते तोकिएको छ ।
स्वतन्त्र कमिटिका सदस्य एलबी क्षेत्रीले सबै पक्षको सहमती अनुसारनै निर्वाचन प्रक्रिया अघि बढेको खेलपाटीलाई बताए ।
‘सरकारले नयाँ विधान अनुसार निर्वाचन गराउने बिषयमा अडान राखेको थियो । तर सहमती अनुसार २०१७ को निर्वाचनको कागजात छानविन गरेर योग्यता पुगेका संघलाई मान्यता दिने सहमती गरियो ।’ उनले थपे, ‘निर्वाचनको कागजात पेश गर्न लामो समय समेत उपलब्ध गराईएको हो । आईसीसी नयाँ निर्वाचनको बिषयमा निकै अघि बढेको छ । पछाडी फर्किएर हेर्ने ठाँउ छैन ।’
स्वतन्त्र कमिटिले आइसीसीको पछिल्लो अडिट रिपोर्ट अनुसार पेश्की फस्र्योट नगर्ने पदाधिकारीलाई नयाँ निर्वाचनमा प्रतिनिधि बन्न रोक लगाउने निर्णय गरेको छ ।
सो निर्णयले प्रथम उपाध्यक्ष बिनोद मैनाली, उपाध्यक्ष दिवाकर घले, सचिव उत्तम कर्माचार्य लगायतका धेरै पदाधिकारी नयाँ निर्वाचनमा प्रतिनिधि बन्न पाउने छैनन् ।
जिल्ला निर्वाचन सकिए लगत्तै स्वतन्त्र कमिटिले प्रदेश र संघको निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।