काठमाडौं । चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबलको उपाधिका लागि आज (शनिबार) दुई विभागीय टिम पुलिस र आर्मी प्रतिस्पर्धा गर्दैछन् ।
साविक विजेता रहेको आर्मी उपाधि रक्षाको लक्ष्य सहित मैदान उत्रने तयारी गरेको छ । पछिल्लो समय नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको फाईनलमा आर्मीसंग व्यहोरेको हारको बदला लिने अवसर पुलिसलाई प्राप्त छ ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले फाइनल भिडन्त उपाधि मात्र नभएर दुई विभागीय टोलीको प्रतिष्ठाको लडाइँ भएको बताए ।
‘फाइनल भिडन्त विभागीय टिमबीचको प्रतिष्ठाको समेत लडाँई हो । धेरै खेलाडी बिरामी भए पनि उमेर समूहका बाँकी खेलाडीबाटै उपाधि जित्ने अपेक्षा छ ।’ खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा शुक्रबार उनले भने ।
निर्धारित समयमै खेल जितेर उपाधि रक्षा गर्ने प्रशिक्षक न्यौपानेको भनाई छ ।
पुलिसका कप्तान भरत शाहले प्रर्दशनमा सुधार ल्याउँदै फाइनल खेलमा जित निकाल्ने दाबी पेश गरे ।
‘मिस पास र फिनिसिङमा सुधार गर्नुपर्ने छ । गल्ती सुधार गर्दै फाइनल जित्ने लक्ष्य लिएका छौ ।’ उनले भने ।
गत संस्करणमा मनाङ मस्याङदीलाई हराउँदै आर्मीले उपाधी जितेको थियो ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।