काठमाडौं । मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ७ ले लगातार दोश्रो जित हात पारेको छ । खराब मौषमका कारण २२ ओभरमा छोट्याईएको खेलमा प्रदेश ७ ले प्रदेश ६ लाई ६५ रनले पराजित गरेको छ ।
१ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश ६ ले १८ ओभर ४ बलमा ७९ रन मात्र बनाउन सक्यो ।
ऋतिकजंग शाहले जोडेको १९ रन टोलीको सर्वाधिक ठुलो स्कोर रहन पुग्यो । यस्तै बिबेक शाहीले १७ तथा युनिष बिक्रम सिंहले १३ रन बनाए ।
प्रदेश ७ का सुभाष एयरले ३ तथा सन्देश भट्टले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले पुरा ओभरमा खेल्दै १ सय १४ रन बनाएको थियो । प्रदेश ७ का सुभाष एयरले ५४ रनको अर्धशतकीय पाली खेलेका थिए । यस्तै धिरेन्द्र ठाकुरले १२ रन बनाए ।
प्रदेश ६ का लागि मोहन गुरुङले ३ विकेट हात पारे । युनिष बिक्रम र ऋतिक जुङले समान २÷२ विकेट हात पारे ।
आजै भएको पहिलो खेलमा भने प्रदेश १ र प्रदेश २ ले अंक बाँडेका छन् । बर्षाले प्रभावित खेलमा प्रदेश २ ले १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रदेश १ ले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर ३३ रन बनाउँदा पानीले खेल बिथोलिन पुग्यो । मौषममा सुधार आउने संकेत नदेखिएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । प्रदेश २ का रोहण बिकेले ६२ रनको अर्धशतकीय पाली खेलेका थिए ।
यस्तै पर्शुराम यादवले ५१ रनको अविजित पाली खेल्दा मेघराज महराले २९ रनको योगदान गरे ।
प्रदेश १ का सिम्रन राईले ३ तथा सोनु मण्डलले २ विकेट लिए ।