काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य जुमानु राई संयुक्त राष्ट्र संघको शान्ति मिसनबाट स्वदेश फर्किएका छन् । नेपाल प्रहरीका नायब निरीक्षक रहेका जुमानु क्यारेबियन राष्ट्र हाईटीको मिसन सकाएर बिहिबार स्वदेश फर्किएका हुन् ।
जुमानु संयुक्त राष्ट्रसंघको आग्रहमा हाइटीमा स्थापना भएको एफपियू मिसनमा एक वर्षयता कार्यरत रहेका थिए । प्रहरी सहायक निरीक्षकबाट नायब निरीक्षकमा बढुवा भएसँगै जुमानु गत वर्ष हाईटीमा खटिएका थिए ।
पुलिस क्लबका पुर्व कप्तान समेत रहेका जुमानुले नेपाली राष्ट्रिय टिमबाट ११ गोल गरिसकेका छन् । उनले नेपालबाट ५३ क्याप जितेका छन् ।
नेपालले बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडालिटी कप लगायतका ऐतिहासिक सफलता हात पार्दा जुमानु भने राष्ट्रिय टोली बाहिर रहेका थिए ।
शान्ति मिसनबाट फर्किएपछि जुमानु पुन: फुटबलमा फर्किने भएका छन् । खेलपाटीसंग कुरा गर्दै जुमानुले अब फुटबलमा केन्द्रित हुने बताए ।
'मिसन सक्कियो अब फेरि पुरानै फुटबलमा केन्द्रित हुन्छु,’ जुमानुले खेलपाटीसंग भने ‘हाईटीमा पनि खेलिरहेको हुन्थे । अब यहाँ पुर्ण रुपमा फुटबलमै लाग्छु ।'
यस्तै जुमानुले राष्ट्रिय टोलीबाट आफु सुखद विदाईको पर्खाइमा रहेको बताए ।
सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका जुमानु सन् २०१५ को साफ च्याम्पियनपछि राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन् ।
जुमानु नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रहेका छन् । नेपालका लागि ११ गोल गरेका जुमानु भन्दा अगाडी हरी खड्का र निराजन रायमाझीको समान १३/१३ गोल रहेको छ ।